३ वैशाख, काठमाडौँ । सभामुख देवराज घिमिरेले आन्दोलनरत शिक्षकहरूको माग अब बस्ने संसद् बैठकले पुरा गर्न नसक्ने बताएका छन्। आज झापा पुगेर उनले शिक्षकहरूको माग बर्खे अधिवेशनमा छलफल गरेर टुंगोमा पुराउन नसकिने बताएका हुन्।
सभामुख घिमिरेले संसद् बैठकमा बजेट केन्द्रित छलफल गर्नु पर्ने भएकाले प्राथमिकतामा राखेर छलफल गर्न नसकिने बताएका हुन्। बजेट जेठ १४ गतेसम्म प्रस्तुत गरिसक्नु पर्ने संवैधानिक व्यवस्था भएको कारण शिक्षा विधेयकलाई एक नम्बरमा राखेर छलफल गर्न नसकिने उनको भनाइ छ।
सरकारले शिक्षक महासङ्घले राखेको मागलाई सम्बोधन गर्न भन्दै वैशाख १२ गते १ बजे बस्ने गरी संसद्को अधिवेशन आह्वान गरेको छ। यता सरकारले शिक्षा ऐन नबनाउँदासम्म आन्दोलन नरोक्ने आन्दोलनरत शिक्षकहरूको अडान कायमै रहेको छ।
चैत २० गते देखि सुरु भएको आन्दोलन आज १५ औँ दिनसम्म पनि जारी छ।