४ वैशाख, काठमाडौँ। सरकार सञ्चालनको लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक हिजो साँझ अबेर बसेको छ। काँग्रेस-एमाले गठबन्धन पश्चात् बनेको सरकारको काम कारबाहीको मूल्याङ्कनगर्न र सुझाव दिनको लागी बनेको सो संयन्त्रको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा भने अनुपस्थित भएका छन्।
थापा पार्टी कामको सिलसिलामा उपत्यका बाहिर भएकाले बैठकमा अनुपस्थित रहेको भनिएको छ। तर, संयन्त्रको बैठक नेताहरूको व्यस्ततालाई ख्याल गरेर अबेर राती डाकिएको थियो। काँग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित बैठकमा महामन्त्री थापा नदेखिए पछि उनको खोजी भएको बताइएको छ।
महामन्त्री थापाले सरकारको गति सुस्त भएको र सरकारले गर्नु पर्ने भन्दा पनि तत्काल गर्न नहुने कम गरेको भन्दै सरकारको कामको आलोचना गर्दै आएका थिए। गत मङ्गलवार भएको एक कार्यक्रममा बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको ‘बेड रुम’ सम्मै रहेको भनी अभिव्यक्ति दिएका थिए। त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै सात बुँदा नै सार्वजनिक गरेका थिए।