४ वैशाख, काठमाडौँ । विद्यालय शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गते देखि सुरु भएको शिक्षक आन्दोलन आज पनि जारी रहेको छ। आज १६ औँ दिनमा आन्दोलन चलिरहँदा शिक्षकहरू झनै आक्रामक बनेका छन्।
आज माइतीघर बबरमहल सडक खण्ड पुरै ठप्प पारेर प्रदर्शन गरेका छन्। शिक्षकहरूको प्रदर्शनका कारण उक्त सडक सवारी आवतजावतमा कठिनाइ भएको छ।
सरकारले शिक्षक महासङ्घको माग पुरा गर्न भन्दै वैशाख १२ गते संसद्को अधिवेशन समेत आह्वान गरेको छ ,तर शिक्षकहरूले मन्त्रीपरिषद्बाट पुरा गर्न सकिने मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिइरहेका छन्। सरकारले संसद्को बर्खे अधिवेशनबाटै सबै माग पुरा गर्ने र आन्दोलनका सबै कार्यक्रमहरू छोडेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरे पनि शिक्षा ऐन जारी भएपछि मात्रै विद्यालय फर्कने भन्दै आन्दोलन झन् सशक्त बनाएका छन्।
सरकारले पटक पटक आश्वासन दिएको तर माग सम्बोधन नगरेको भन्दै उधारो सहमति नगर्ने शिक्षकहरूले अडान लिएका छन्। सरकारले आफ्ना माग पुरा गर्न उदासीनता देखाएको भन्दै महासङ्घले चैत २५ गतेदेखि देशैभर शैक्षिक हड्ताल गरेर आन्दोलनमा होमिन सबै शिक्षक कर्मचारीहरूलाई निर्देशन गरेको छ।