४ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निषेधित क्षेत्र तोकेकै ठाउँमा प्रदर्शन गर्ने बताएका छन्। उनले सरकारले जनताको अधिकार लाई सङ्कुचित बनाउँदै लगेको भन्दै उनले निषेधित क्षेत्रमै प्रदर्शन गरेर गिरफ्तारी दिने बताएका हुन्।
आफूले ७ गते निषेधित क्षेत्र मै गिरफ्तारी दिने निर्णय गरेको उनले बताए।
राप्रपाले आफ्ना नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्नु पर्ने भन्दै वैशाख ७ गते प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै अध्यक्ष लिङ्देनले वैशाख २० गते भित्र पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए।
राप्रपाले वैशाख ९ गते सबै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। लिङ्देनले तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन गर्नु पर्ने माग आफ्नो पार्टीको रहेको समेत बताएका छन्।