आर्थिक

हिमालय एअरलाइन्स्द्वारा प्रयास नेपालका बालबालिकाहरूसँग आत्मीयताको निरन्तरता

४ वैशाख, काठमाडौँ । — आफ्नो सेवा यात्राको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको “Step Towards Education” अभियानमार्फत सामाजिक सेवामा आफ्नो प्रतिबद्धतालाई अझै मजबुत बनाएको छ। यसै क्रममा, एअरलाइन्स्ले प्रयास नेपाल संस्थामा आश्रित बालबालिकाहरूलाई शैक्षिक वर्ष २०२५ का लागि आवश्यक सामग्रीहरू प्रदान गर्दै निरन्तर सहकार्यलाई जीवन्त राखेको छ।

१७ अप्रिलका दिन आयोजित एक कार्यक्रममा हिमालय एअरलाइन्स्‌ले विभिन्न कक्षाका पाठ्यपुस्तक, नोटबुक, रजिस्टर, जुत्ता, तन्ना र तौलिया हस्तान्तरण गरेको हो। यसले बालबालिकाको शिक्षा मात्र होइन, स्वास्थ्य र समग्र जीवनशैलीमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा हिमालय एअरलाइन्स्‌की ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, “पछिल्ला आठ वर्षदेखि प्रयास नेपालसँगको सहकार्यले मलाई भावनात्मक रूपमा पनि जोडिएको महसुस हुन्छ। बालबालिकाको जीवनमा आएको परिवर्तन साक्षी बन्नु एक अविस्मरणीय अनुभव हो।”

प्रयास नेपालकी अध्यक्ष मणि जोशीले एअरलाइन्स्‌प्रति आभार व्यक्त गर्दै भनिन्, “हिमालय एअरलाइन्स्‌को सहयोग केवल सामग्रीमा सीमित छैन, यसले बालबालिकाको जीवनमा आशा र सम्भावनाको उज्यालो थपेको छ।”

प्रयास नेपाल र हिमालय एअरलाइन्स्को सहकार्य


२२ वर्षदेखि क्रियाशील प्रयास नेपाल हाल १८ जना बालबालिकाको संरक्षण, शिक्षादिक्षा र सशक्तीकरणमा समर्पित छ। हिमालय एअरलाइन्स्‌ले उक्त संस्थासँगको सहकार्यमार्फत बालबालिकालाई आत्मनिर्भर बनाउने यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।