५ वैशाख,कपिलवस्तु। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आज कपिलवस्तुको शुद्धोदन गाउँपालिका–४ मा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुगेका छन्।
उनले विद्यार्थी, अभिभावक तथा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी समेत लिए। कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनालले पनि सम्बोधन गरेका थिए ।
मुस्लिम, थारु र मधेसी समुदायका छात्राहरूलाई लक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित छ। महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ।
हाल कक्षा १२ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना रहेको छ। साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो।
अध्यक्ष दाहालले यस विद्यालयलाई एक वास्तविक कलेजको रूपमा सञ्चालन गर्दै सामाजिक समावेशिता र लैङ्गिक समानताको नमुना केन्द्रको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै उनले बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताए।