पर्यटन/संस्कृति

विश्वसम्पदा सूचीकृत क्षेत्रमा पदयात्रा

५ वैशाख, काठमाडौँ । विश्वसम्पदा दिवसका अवसरमा आज स्वयम्भूदेखि वसन्तपुरसम्म पदयात्रा गरिएको छ । पूरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, विभिन्न सांस्कृतिक सङ्घसंस्थालगायतको सहभागितामा स्थानीय भुइँखेलबाट सुरु भएको यात्रा विभिन्न सम्पदा मार्ग हुँदै वसन्तपुरमा पुगेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पदयात्राको शुभारम्भ गरे । उनले प्राचीन सम्पदा तथा पूरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन र अनुसन्धानमा सहयोग गर्ने बताउँदै तीनको संरक्षण तथा सम्बर्द्धन गर्नुपर्ने बताए ।

पदयात्रा सुरु भएको स्वयम्भूनाथ क्षेत्र र समापन गरिएको हनुमानढोका दरबार क्षेत्रको दूरी करिब तीन किलोमिटर छ । यस दूरीभित्र पूराना मन्दिर, पोखरी, कुवालगायत सांस्कृतिकस्थल तथा सम्पदा छन् । यात्राका क्रममा सहभागीले सम्पदा संरक्षणसम्बन्धी सन्देश फैलाइएको थियो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले पनि विश्वसम्पदा दिवसका सन्दर्भमा स्वयम्भूनाथ चैत्य तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरेको छ । महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले स्वयम्भूको संरक्षण तथा स्थानीय जात्रा पर्व, संस्कृतिको जगेर्नामा महासमितिले सहयोग गर्दै आएको जानकारी दिए ।