राजनीति

एक पटक माओवादी केन्द्रलाई साथ दिनुहोस्, हामी समृद्ध तराई निर्माण गर्छौँ : अध्यक्ष दाहाल 

५ वैशाख, कपिलवस्तु।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु जिल्ला समन्वय समितिद्वारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी  भएका छन्। 

उक्त कार्यक्रममा अध्यक्ष दाहालले  सयौँ नव प्रवेशीलाई पार्टीमा स्वागत  गरे थिए भने सहभागी नेता कार्यकर्ताहरूलाई  राजनीतिक प्रशिक्षणसमेत दिएका छन्।  दाहालले देशको वर्तमान अवस्था, पार्टीको नीति र भावी योजना बारे सहभागीहरूलाई प्रशिक्षित गराएका थिए। 

अध्यक्ष दाहालले हुलाकी राजमार्गको अभियान, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या, र मिटर ब्याजी पीडितको मुद्दालाई माओवादी केन्द्रले सरकारमा रहँदा प्राथमिकतामा राखेर काम गरेको  बताए। उनले जनसमस्या समाधानमा पार्टीको प्रतिबद्धता रहेको पनि बताए। 

वर्षौँदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको अध्यक्ष दाहालको भनाइ छ। उनले जनतालाई आफ्नो पार्टीलाई  साथ दिन आग्रह गर्दै भने,’अब तपाईँहरू हाम्रो साथ दिनुहोस्, माओवादीले समृद्ध तराई निर्माण गर्छ।’