५ वैशाख, चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताएका छन्।
पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताए । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उनको भनाइ थियो ।
“अब सडक बनाउने अनी भत्काउने गर्न हुँदैन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम गर्नुपर्छ । सङ्घीयताको भावना भनेकै सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो”, उनले भने ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले यसरी नै पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नतिको काम गरिरहेको बताए । उनले यो सडक सरकारकै लगानीमा बन्दै गरेको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सडक निर्माणका क्रममा एकैपटक सबै पूर्वाधार रहने गरी गृहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता परियोजना बनाउँदा धेरै बाधा व्यवधान आउने भन्दै सबै मिलेर निर्माणका काम गर्नुपर्ने बताए । यो बागमती प्रदेशकै नमूना सडक भएको उनले बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पहल कदमी महानगरले लिएकाले यो सडक निर्माण सम्पन्न हुँदै गर्दा सबैभन्दा खुसी आफू र महानगरवासी भएको बताए । सडक निर्माणका लागि महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर आग्रह गरेपछि काम भएको उनले जानकारी दिए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हालसम्म देशभर एक लाख पाँच हजारभन्दा बढी किलोमिटर सडक कालोपत्र भएको बताए । विसं २०६२÷६३ मा ६५ हजार किलोमिटर सडक कालोपत्र भएकामा २०४७ साल अघि २५ हजार किलोमिटर मात्र सडक कालोपत्र भएको उनले जानकारी दिए । देशका ७७ जिल्लाका सदरमुकाममा यातायातका साधन पुगेको र १९ पालिकाको कार्यालय मात्र सडक सञ्जालसँग जोडिन बाँकी रहेको सचिव शर्माले बताए। ६ दशमलव ८ किलोमिटर लम्बाइ भएको उक्त सडक खण्ड रु एक अर्ब १३ करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो ।