५ वैशाख, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुख तथा सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिवलाई तोकिएको छ ।
प्रदेशमा लागुऔषध सेवन तथा ओसारपसारको समस्या डरलाग्दो रुपमा फैलिन थालेपछि यसको नियन्त्रणका लागि मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले प्रदेशका प्रमुख सचिवकै संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यमा आर्थिक मामिला मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखलाई तथा सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई तोकिएको छ ।
समितिले राजस्व वृद्धि, भन्सार जाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण, रोजगरीको शिलशिलामा भारत जाने नेपालीको अभिलेख व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्ययोजना तयार गरी काम गर्ने छ ।