समाचार

परीक्षा बोर्डले विद्यार्थीहरुलाई भन्यो: कक्षा १२ को परीक्षा स्थगित भएको छैन, परीक्षाको तयारीमा जुट्नुस्

६ वैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रमा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डल आग्रह गरेको छ ।

शुक्रबार बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ । बोर्डले आज सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ । परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साईवर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रकृया अगाडि बढाइएको बोर्डले विज्ञप्तीमार्फत जनाएको छ । बोर्डको वेभसाईटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ ।