६ वैशाख, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार नढल्ने बताएका छन्। आज पोखरामा पत्रकारसँग कुरा गर्दै उनले साथीहरूले सरकार ढल्छ भन्दै गर्दा आफूहरूले ढल्दैन भन्नुपर्ने अवस्था आएको बताए।
गृहमन्त्री लेखकले वर्तमान सरकारमा कुनै समस्या नभएको बताए। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको गति सुस्त भएको भन्दै गियर बढाउनु पर्ने बताउँदै आएका छन् । केही दिनअघि एक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका थिए।
त्यस्तै सरकारको भविष्यकोबारे प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकार धेरै समय नजाने बताएका थिए। काँग्रेस भित्रबाट पनि सरकारको कामबारे असन्तुष्टि जनाउनु र प्रमुख प्रतिपक्ष दलका नेताले पनि नयाँ बर्षमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार भन्ने अभिव्यक्ति दिनु संयोग मात्रै नहुने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ।