६ वैशाख, काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रम सकेर फर्कने क्रममा आफू विरुद्ध २/४ जना व्यक्तिहरूले नारा लगाएको भन्दै घटनाको स्वीकार गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त घटनाको जानकारी दिएका हुन्।
उनले ‘नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् ‘ भन्दै प्रतिक्रिया दिएका छन्। उनले सवाल, विरोध वा समर्थन गर्दा सभ्यताको सीमामा बसेर गर्न सुझाएका छन्। स्थानीयबाट भएको विरोधले आफूलाई कुनै दुख नभएको भट्टराईको भनाइ छ।
आफूलाई विरोध गर्नेहरूलाई कसैको प्रायोजक नबन्न सचिव भट्टराईको आग्रह छ। उनले लेखेका छन्,’मेरो आग्रह छ विवेकले काम गरौँ, कसैको प्रायोजक नबनौँ, सामाजिक एकता र सद्भाव नबिगारौँ। ‘
सचिव भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य समेत रहेका छन्। पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माण जसरी पनि गर्नु पर्ने सांसद भट्टराईको अभिव्यक्तिले चिढिएका स्थानीयले उनको विरोध गर्दै आएका छन्। स्थानीय जनता केबलकार निर्माण गर्न नहुने पक्षमा छन् भने सोही क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद भट्टराई भने जसरी पनि निर्माण गर्नु पर्ने अडानमा रहेका थिए । केबलकार निर्माणको विषयलाई लिएर सांसद भट्टराईलाई स्थानीयले विरोधको बताइएको छ।
