समाचार

संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताबीच छलफल

६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।