६ बैसाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन – ढुक्क होऔं भनेका छन् ।
सामाजिक सञ्जाला लेख्दै उनले माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ भनेका छन् ।
महासचिव पोख्रेलले भनेका छन्,
‘विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन – ढुक्क होऔं !
विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै “पानी माथिको ओभानो” बन्ने प्रयास लाजमर्दो छ।
वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको अवस्थामा विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको छ। अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ।
माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ।
आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।
विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन । शिक्षा ऐन ल्याउन सरकार प्रतिवद्ध छ, र यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा यो प्राथमिकतामा छ।
अब सबै पक्ष जिम्मेवार बनौं। संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौं। शिक्षा हाम्रो साझा भविष्य हो—यसलाई दलिय राजनीतिक स्वार्थको विषय नबनाऔं !’
