७ वैशाख, काठमाडौँ। राप्रपाले आज काठमाडौँमा सरकारले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि उपत्यकाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। विभिन्न स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले यस अघि नै निषेधित क्षेत्र घोषणा गरेका सिंहदरबार, संसद् भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा बाक्लो सुरक्षाकर्मीहरूको तैनाथी देखिएको हो।
राप्रपाले आज गर्ने भनेको प्रदर्शनमा सरकारले नागरिकको विरोध गर्ने अधिकारलाई सङ्कुचित गरेको भन्दै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने र गिरफ्तारी समेत दिने घोषणा गरेको थियो। गत चैत १५ गते भएको तीनकुनेको हिंसात्मक घटना नहोस् भनेर उच्च सुरक्षा सतर्कता प्रहरीले अपनाएको छ। हिजो शनिवार गृह मन्त्रालयले एल विज्ञप्ति नै निकालेर शान्तिपूर्ण आन्दोलन र प्रदर्शन गर्न आग्रह गरेको थियो।
तीनकुने घटनामा संलग्न रहेको भन्दै आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा राप्रपाले विरोध प्रदर्शन गर्न लागेको हो। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल समसेर राणालगायतलाई चैत १५ गते नै प्रहरी पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।