७ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घ र राप्रपाको प्रदर्शन एकै समयमा परेपछि उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। चैत २० गते देखि शिक्षा ऐन जारी हुनु पर्ने माग राख्दै प्रदर्शनमा रहेका शिक्षकहरूले राप्रपाको प्रदर्शनलाई लिएर नियमित प्रदर्शन गरिरहेको समयलाई परिवर्तन गरेको हो।
यता प्रहरीले माइतीघर बबरमहल क्षेत्रमा बिहानैदेखि कडाइ गरेको छ। त्यस क्षेत्रमा कुनै पनि सवारी साधनलाई प्रवेश गर्न दिएको छैन भने कार्यालय समय भएका कारण यात्रुहरूलाई कठिनाइ भएको छ। राप्रपाले निषेधित क्षेत्र तोड्ने यस अघि नै घोषणा गरेका कारण सम्भावित दुर्घटनालाई रोक उक्त सडक खण्डमा कडाइ गरेको हो।
दिउसो १२ देखि ४ बजेसम्म हुँदै आएको शिक्षक आन्दोलन राप्रपाको प्रदर्शनका कारण बिहान ९ बजे देखी १२ बजे बजेसम्म गर्ने भनिएको थियो तर ,राप्रपाको प्रदर्शन ११ बजे देखिने हुने भएकाले दोहोरो प्रदर्शनका कारण यातायात प्रभावित बनेको हो। शिक्षकहरूको प्रदर्शन माइतीघरबाट बानेश्वरतर्फ अघि बढिरहेको छ भने कार्यालय समय भएकाले माइतीघर–बानेश्वर सडक खण्डमा सवारी यातायात प्रभावित भएका छन्।
सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। तीनकुने घटना नदोहोरियोस् भनेर सतर्कता र उच्च निगरानी बढाइएको बताइएको छ। राप्रपाले जनताको विरोध गर्ने अधिकारलाई सरकारले सङ्कुचित बनाएको भन्दै निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने बताई सकेको छ।