शिक्षा

शिक्षक महासङ्घको आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै आजको प्रदर्शन सकियो 

७ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घ र राप्रपाको प्रदर्शन जुधेपछि आजको शिक्षकहरूको आन्दोलन सकिएको छ। राप्रपाले पनि एकै समयमा प्रदर्शन गर्न लागेपछि घुसपैठ हुनसक्ने भन्दै आन्दोलन आजलाई सकाएका हुन्। 

 शिक्षकहरूले सधैको समय भन्दा फरक समय पारेर बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने  भने पनि राप्रपाको प्रदर्शनका कारण आज छोटो समय मात्रै प्रदर्शन गरेका हुन् । सभ्य,भद्र र शालीन प्रदर्शनमा घुसपैठ भए प्राप्त उपलब्धि पनि गुम्न सक्ने भन्दै महासंघले सबै आन्दोलनरत शिक्षकहरूलाई आफ्नो परिचय पत्र भिरेर प्रदर्शनमा आउन आग्रह गरेको थियो। 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग सहित चैत २० गते देखि देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। चैत २५ गते देखि शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलन गरिरहेका छन्। 

आजको शिक्षक आन्दोलनको समाप्तिसँगै राप्रपाको आन्दोलन र प्रदर्शन माइतीघर–बानेश्वर सडक खण्डमा हुने भएकाले उक्त क्षेत्रमा सवारी यातायात प्रभावित भएका छन्। 

सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।  तीनकुने घटना नदोहोरियोस् भनेर सतर्कता र उच्च निगरानी बढाइएको बताइएको छ।यता राप्रपाले जनताको विरोध गर्ने अधिकारलाई सरकारले सङ्कुचित बनाएको भन्दै निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने बताई सकेको छ।