समाचार

डा. गुणाकर भट्ट गभर्नर बन्ने पक्का, उनी विरुद्ध सर्वोच्चमा छैन कुनै रिट 

७ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. गुणाकर भट्टको नियुक्तिको सम्भावना बढेर गएको छ। केही दिन अघि उनलाई गभर्नर बन्नबाट रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हल्ला चलाइए पनि अहिलेसम्म कुनै निवेदन दर्ता नभएको खुल्न आएको हो। 

अधिवक्ता डा. भेषराज घिमिरेले जानकारी दिएअनुसार यस अघि डा. भट्टलाई रोक्न अदालतमा रिट दर्ता भएको भन्ने समाचार हल्ला मात्रै रहेका हुन्। 

सुर्यखबरसँग कुरा गर्दै अधिवक्ता डा. घिमिरेले भने, ‘डा. गुणाकर भट्टको योग्यता नपुगेको दाबीसहित सर्वोच्च अदालतमा रिट परेको भन्ने हल्ला मात्र हुन्, हालसम्म कुनै निवेदन दर्ता भएको छैन।’ उनका अनुसार गभर्नर नियुक्तिमा डा. भट्ट कै सम्भावना रहेको छ। अबको केही दिनमा भट्ट गभर्नर बन्ने उनको भनाइ छ। 

 सत्तारूढ दल काँग्रेस एमालेले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. भट्टलाई नियुक्ति गर्ने सहमति गरेको भन्ने समाचार आएपछि उनको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको भन्ने समाचार आएका थिए। तर सर्वोच्चमा कुनै पनि निवेदन दर्ता नभएको खुल्न आएको हो।