राजनीति

कसैले लोकतन्त्रको विरोध गर्दै निरङ्कुशताको पक्षमा आवाज उठाउँछ भने त्यो अपराध हो: अध्यक्ष दाहाल 

७ वैशाख, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निरङ्कुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने बताएका छन्। आज आइतबार विराटनगरमा आयोजित हाम्रोमत दैनिक’को २२ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। 

उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे। संविधान जारी गर्दा दलहरूबिच दश वर्षपछि समीक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उहाँले त्यसको समय अब आएको बताए। तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे। 

‘संविधानको समीक्षा गर्दा एउटा सर्त रहन्छ। हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौँ। हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो। जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनको भनाइ थियो।

शनिवार सम्पन्न तीन दलबिचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको जानकारी दिए। 

‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिने? विद्रोह के हो? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ। एउटा साझा व्याख्या आवश्यक छ,’ उनले उल्लेख गरे। 

‘यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमानदारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ।

तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरङ्कुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन। त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो।’

उनले कुन गतिविधि आन्दोलन हो? कुन आपराधिक वा इतिहासविरुद्धको हो? कुन जनताको आवश्यकतासँग मेल खान्छ? भन्ने विषयमा गणतन्त्रवादी दलहरूले स्पष्ट दृष्टिकोण लिनुपर्नेमा जोड दिए। 

‘एकल परिभाषाका आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने शब्दहरूको प्रयोग गरिनु हुँदैन। निरङ्कुशता वा तानाशाहीतर्फ फर्किनका लागि गरिने प्रयासलाई आन्दोलन भन्न मिल्दैन। कम्तीमा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीहरूले यस्तो शब्द प्रयोग गर्नु अनुचित हुन्छ। त्यो आन्दोलन हुनै सक्दैन,’ उहाँले स्पष्ट पारे।

‘त्यस्ता गतिविधिहरू इतिहास र जनहित विपरीत, लोकतान्त्रिक मर्म र भावना विपरीत षड्यन्त्र मात्र हुन्छन्। त्यसलाई आपराधिक र समाज विरोधी क्रियाकलापको रूपमा परिभाषित गर्नुपर्छ।’

अध्यक्ष दाहालले  देशमा ‘लोकतन्त्र नभई नेतातन्त्र भएको हो’ भन्ने भनाइप्रति पनि असन्तुष्टि व्यक्त गरे। ‘नेतातन्त्र भन्ने शब्द प्रयोग गरेर तीन जना नेताहरूलाई लक्षित गर्दै लोकतन्त्र, प्रणाली र संविधानप्रति नै आक्रोश पोखिने प्रयास भइरहेको देखिन्छ। कसैले जानाजान, कसैले बोल्न नसकेर वा ईर्ष्या बस त्यसो गरिरहेको अवस्था देखिन्छ,’ उनले भने।‘नेतातन्त्र भन्ने कुनै व्यवस्था हुँदैन। नेताहरूमा कमजोरी हुन सक्छ। उनीहरूको आलोचना गर्न सकिन्छ। तर, नेताविनाको लोकतन्त्र सम्भव छैन। नेतातन्त्र भन्ने शब्दावली लोकतन्त्रको उपहास हो।’

उनको भनाइमा लोकतन्त्रमा नेताको भूमिका अनिवार्य हुन्छ, र ‘नेतातन्त्र’ भन्ने शब्दले लोकतान्त्रिक मूल्य र संरचनामाथि प्रहार गर्दछ।

‘लोकतन्त्रमा नेतातन्त्र भन्ने कुरै हुँदैन। नेता नभएको पार्टी हुँदैन। कोही नेता गलत हुन सक्छ, तर तन्त्रको रूपमा नेतातन्त्र भन्ने मिल्दैन। मुख्य कुरा लोकतन्त्रको पक्षमा हो कि होइन भन्ने हो,’ उनले स्पष्ट गरे।