८ वैशाख, काठमाडौँ। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको परिकल्पनाकार ठान्ने रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले रवि लामिछाने जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म मान्न नहुने बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले लामिछानेको मुद्दाको फैसला १८- २० वटा अदालते गर्ने भन्दै कुनैबाट छुट्ने र कुनैबाट पुनः पक्राउ गरेर जेल पठाउने जिकिर गरेका हुन्।
लामिछाने जेलबाट आऊ जाऊ गरेर डिस्टर्ब मात्रै गर्ने उनको भनाइ छ। ‘यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन् ।’
उनले लामिछाने पटके गुण्डा जस्तै भएको आरोप लगाएका छन्। ‘तपाईँहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन् । यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा “पटके” भनिन्छ । रवि दाइ पनि ‘”पटके” भइसके ।
ढकालले अब रास्वपाले लामिछानेलाई पनि बिर्सन नसक्ने र वैकल्पिक शक्तिलाई कसैले हाँक्न पनि नसक्ने ठोकुवा गरेका छन्। अब रास्वपाको भविष्य एमाले काँग्रेस र माओवादीकै जस्तो हुने ढकालको भनाइ छ।
