ब्रेकिङ न्युज

शिक्षक आन्दोलन आज २०औँ दिनमा: टसमस नै भएन सरकार 

८ वैशाख, काठमाडौँ।  शिक्षा ऐन जारी हुनु पर्ने माग सहित शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलन आज २० औँ  दिन पनि जारी रहेको छ। शिक्षा मन्त्रालयसँग पटक पटक वार्ता गरे पनि माग पुरा हुने सम्भावना नदेखेपछि महासङ्घ निरन्तर आन्दोलनमा  रहेको हो।  

गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन आज पनि जारी रहेको हो। शिक्षकहरू माइतीघर बबरमहल सडक  खण्डमा भेला भएर प्रदर्शन गरिरहेका छन्।  विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने महासङ्घको अडान छ।  

सरकारले आगामी अधिवेशनबाट शिक्षकको माग पुरा गर्ने आश्वासन दिँदा पनि महासङ्घ आन्दोलनमै रहेको हो। सरकारले वैशाख १२ गते बस्ने गरी संसद्को बर्खे अधिवेशन बोलाइसकेको छ। 

 केही दिन अघि महासङ्घका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका थिए।  उक्त छलफल पनि विना निष्कर्ष सकिएपछि महासङ्घ निरन्तर सडक आन्दोलनमा रहेको हो ।