सामाजिक सञ्जाल

पोखरा र भैरहवा विमानस्थलबारे आफू विरुद्ध मिडिया ट्रायल नगर्न योगेश भट्टराईको चुनौती

८ वैशाख, काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू मन्त्रीको जिम्मेवारीमा रहेको समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा आफूले गरेको हस्ताक्षर र निर्णयले राज्यलाई नोक्सान हुने कुनै प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका छन्। आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू विरुद्ध प्रायोजित प्रचार गर्नेलाई चुनौती दिएका हुन्। 

उनले लेखेका छन् , ‘म २०७६ साउन १५ गते देखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको जिम्मेवारीमा रहेको हो । 

उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ।’

सचिव भट्टराईले काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न सिपालुहरूलाई आफूले राम्ररी बुझेको बताएका छन्। ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितिको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु। ‘ 

 उनले आफू विरुद्ध मिडिया ट्रायल नगर्न चुनौती दिँदै आफू विरुद्ध औला उठाउने नै पर्ने बताएका छन्। उनले आवश्यक परे सबै डकुमेन्ट सार्वजनिक गर्न तयार रहेको बताएका हुन्।