समाचार

शिक्षामन्त्रीको राजीनामा पश्चात् आजै बस्ने मन्त्रिपरिषद्को बैठकले सम्बोधन गर्ला त शिक्षकको माग ?

८ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घको नेतृत्वमा शिक्षक आन्दोलन २० औँ दिनमा चलिरहँदा शिक्षा मन्त्री  विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलनको स्वरूप बदलिन सक्ने सम्भावना देखिएको छ । आजै मन्त्रिपरिषद्को बैठक पनि भएकाले सरकारले यस बारे निर्णय गर्न सक्ने पनि देखिएको हो। 

मन्त्री भट्टराईले शिक्षा ऐन जारी नहुने अवस्था आएमा आफू पदमा नबस्ने घोषणा गरेकी  थिइन्  भने उनको राजीनामाले शिक्षक आन्दोलनको माग पुरा नहुने हो कि भन्ने प्रश्न उठेको हो। 

महासङ्घका प्रतिनिधिहरुसंग पटक पटक वार्तामा बसेकी भट्टराई २० औँ दिनमा पनि माग सम्बोधनमा प्रधानमन्त्रीबाट कुनै सङ्केत नपाएपछि आज प्रधानमन्त्रीलाई भेटेरै राजीनामा बुझाएकी हुन्।अब शिक्षक आन्दोलन कसरी अघि बढ्छ भन्ने विषय निकै पेचिलो बनेको छ। शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नछोड्ने महासङ्घको अडान मन्त्रीको राजीनामा पछि कस्तो धारणा बनाउँछ त्यो भने सार्वजनिक हुन बाकी छ। 

 विभागीय मन्त्रीले नै राजीनामा दिए पछि सरकारलाई नैतिक सङ्कट परेको देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा  एक थान ऐन लिन दुई चार जना शिक्षक आउनु भएको भए पनि हुन्थ्यो भन्दै आन्दोलन जायज नभएको सङ्केत गरेका थिए। मन्त्रीको राजीनामा पश्चात् प्रधानमन्त्री स्वयम् पनि दबाबमा परेका छन् । आजै  साँझ मन्त्रीपरिषद् बैठक बोलाइएको छ।  मन्त्रीको राजीनाम स्वीकृत अथवा शिक्षकको माग सम्बन्धमा केही निर्णय हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ।