ब्रेकिङ न्युज

राजीनामा दिने शिक्षामन्त्री गाली खाने प्रधानमन्त्री, बचाउमा एमाले नेता !

९ वैशाख, काठमाडौँ। हिजो अचानक शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी विरोध भइरहेको छ। २१ दिन देखि  देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरू ‘शिक्षा ऐन’ को माग राख्दै सडक सङ्घर्ष गरिरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीले आलोचना खेप्नु परेको हो। 

प्रधानमन्त्री ओलीको बचाउमा आफ्नै पार्टीका नेताहरू लागी परेका छन्। एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिक्षामन्त्री भट्टराईको सामाजिक सञ्जालमा देवत्वकरण गरेको भन्दै आपत्ति जनाएका छन्। मन्त्री भट्टराईलाई देवत्वकरण गर्नमा होडबाजी चलेमा उनले उक्त शैलीलाई  ‘स्वाँठशैली’ भएको भन्दै लेखेका छन्,’उहाँलाई काममा असहयोग,वार्ता गर्न निरन्तर इन्कार,राजीनामापछि प्रधानमन्त्रीविरूद्द प्रहारको दुराशयले देवत्वकरणको होडबाजी?स्वाँठशैली !’

त्यस्तै अर्का एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शिक्षामन्त्री भट्टराईको राजीनामामा प्रधानमन्त्री ओलीमाथि आक्रमण गर्नु नियोजित भएको बताएका छन्। पद छाडेकी मन्त्रीको देवत्वकरण गर्ने र उनलाई नै सरकारको मन्त्री बनाउने प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक भएको नेता रिजालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ । जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन । यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ । समस्याका बिचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ ।’नेता रिजालको भनाइ छ। 

मन्त्री भट्टराईले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन नहुने अवस्था आएमा आफू पदमा नरहने बताएकी थिइन्। शिक्षकहरूको माग पुरा नगर्ने प्रधानमन्त्री ओलीको योजना बुझेपछि उनले मन्त्री पदबाट नैतिकताको आधारमा राजीनामा दिएको चर्चा चलिरहँदा प्रधानमन्त्री प्रति सामाजिक सञ्जालमा गालीको ओइरो लागेको हो। मन्त्री भट्टराईले राजीनामा दिए पनि अझै स्वीकृत भएको छैन।