९ बैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐन कार्यान्वयनको मागसहित चैत २० गतेदेखि सडकमा उत्रिएका शिक्षकहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धैर्य नछोड्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतका आन्दोलनहरूमा पटकपटक धोका भएको स्मरण गर्दै यो पटक त्यस्तो स्थिति दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे । “शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु,” उनले भने, “पटक–पटक सम्झौता गर्नुभयो, तर धोका पाइरहनुभयो । अब त्यो अवस्था दोहोरिन दिनु हुँदैन ।”
“उनले हालै शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई पनि सरकारको गैरजिम्मेवारीपनको प्रमाणको रूपमा व्याख्या गरे । सरकार आफ्नै बोझ थाम्न सक्ने अवस्थामा छैन,” प्रचण्डले प्रष्ट पारे, “यो सरकार आफैंमा गम्भीर संकटमा छ ।”