शिक्षा

सरकारलाई महासंघको चुनौती : शिक्षक बिना जर्बजस्ती परीक्षा सञ्चालन कसरी हुन्छ हेर्छौं  !

९ बैशाख, काठमाडौँ । शिक्षक महासंघले राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा सरकारी निजामती कर्मचारी परिचालन गरेर सञ्चालन गर्ने निर्णय गरेसँगै, आन्दोलनरत शिक्षक संगठनले कडा असन्तुष्टि जनाएको छ।

२१ दिनदेखि जारी आन्दोलनका बीचमा परीक्षा गराउने निर्णय शिक्षक महासंघलाई स्वीकार्य छैन। “शिक्षकबिना परीक्षा सम्भव छ भनेर देखाउन खोजिएको हो भने हेरौं, कति सम्भव हुन्छ” भन्दै महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारको निर्णयप्रति आक्रोश पोखिन्।

‘शिक्षकलाई अपमान गरिएको छ,’ पराजुलीको गुनासो छ, ‘शिक्षक बिनै उत्तरपुस्तिका परीक्षणसम्म गर्न सकिन्छ भनेर जुन दम्भ देखाइएको छ, त्यो सह्य हुँदैन। शिक्षा ऐन जारी गर्न माग गर्दै हामी आन्दोलनमा छौं, र आन्दोलन जारी नै रहनेछ।’

शिक्षकहरू निरीक्षकको भूमिकामा नजाने अडानमै अडिग छन्। ‘जबरजस्ती परीक्षा सञ्चालन सम्भव छैन,’ पराजुलीको चेतावनी छ, ‘शिक्षा प्रणाली शिक्षकहरूको सहमति र साथबिना सञ्चालन गर्न खोज्ने राज्यलाई हाम्रो खुला चुनौती छ।’