ब्रेकिङ न्युज

शिक्षक महासङ्घले भन्यो : परीक्षा बोर्ड र जिल्ला प्रशासनबाट कक्षा १२ को परीक्षामा सहभागी हुन धम्की आयो 

९ वैशाख, काठमाडौँ।   शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा सहभागी हुन भन्दै राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला शिक्षा अधिकारीबाट धम्की आएको बताएको छ।  महासङ्घका अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उक्त धम्की प्रति महासङ्घको  गम्भीर ध्यानाकर्षण  भएको उल्लेख गरिएको छ। 

महासङ्घले विज्ञप्तिमार्फत  विगत २१ दिनदेखि काठमाडौँमा आन्दोलन जारी रहेको र सरकारले कर्मचारी प्रयोग गरेर गर्ने भनेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुन सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गरेको छ । साथै १२ को परीक्षा सञ्चालनमा तोकिएका केन्द्राध्यक्षहरूलाई आन्दोलनमा सहभागी हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ। 

शिक्षकहरूको आन्दोलनैबिच शिक्षामन्त्रीको राजीनामा आएपछि १२ को परीक्षामा  अन्योल हुने संशय पैदा भएको समयमा राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।  आन्दोलनरत शिक्षकहरूले भने आफूहरू कुनै प्रक्रियामा भाग नलिने बताइसकेका छन्।