ब्रेकिङ न्युज

शिक्षकहरुको आन्दोलनमा कांग्रेस सम्बद्ध नेपाल निजामती कर्मचारी यूनियनको सर्मथन

९ वैशाख, काठमाडौं । विद्यालय शिक्षक तथा कर्मचारीहरूको पेशागत हित, शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका मागसहित जारी आन्दोलनप्रति नेपाली कांग्रेस सम्बद्ध नेपाल निजामती कर्मचारी यूनियनले ऐक्यबद्धता जनाएको छ।

आज एक बिज्ञप्ति जारी गर्दै यूनियनले जारी आन्दोलनमा सरकार गम्भीर नभएको भन्दै चासो व्यक्त गरेको छ।

साथै, कक्षा १२ को परीक्षा अवरुद्ध गर्ने भन्ने भ्रामक समाचारप्रति आपत्ति जनाउँदै सबै शैक्षिक क्रियाकलाप सहज रुपमा सञ्चालन हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ।

बिज्ञप्ति :

नेपाल निजामती कर्मचारी युनियनले विद्यालय शिक्षक तथा कर्मचारीहरूको पेशागत हित, शैक्षिक क्षेत्रको सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धिलगायतका माग राखी विगत २१ दिन देखि निरन्तर गरिरहेको आन्दोलनमा पुनः समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछ। नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिई शीघ्र समाधान गर्नुको सट्टा कक्षा १२ को परीक्षा लगायतका शैक्षिक क्रियाकलापमा निजामती कर्मचारीहरु परिचालन गर्ने भनी प्रकाशित भएका समाचारप्रति नेपाल निजामती कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ, निजामती कर्मचारीहरुलाई परिचालन नगरी विगतमा झै विद्यालय शिक्षक र कर्मचारी मार्फत नै कक्षा १२ को परीक्षा लगायतका सम्पूर्ण शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्ने/गराउने वातावरण बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।