समाचार

शिक्षक आन्दोलन: आज प्रदर्शन स्थलमै रक्तदान कार्यक्रम 

११ वैशाख, काठमाडौँ । चर्का नारासहित सडक प्रदर्शनमा रहेका शिक्षकहरूले आज रक्तदान कार्यक्रम गरेका छन्। उनीहरूले आज आन्दोलनको २३ औं दिनमा प्रदर्शन स्थलमै रक्तदान गरेका हुन्। 

शिक्षक महासङ्घको नेतृत्वमा चैत २० गतेबाट विद्यालय शिक्षा ऐन माग राख्दै देशैभरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरू सडक प्रदर्शनमा रहेका छन्।  सरकारसँग पटक पटक वार्ता गरे पनि सहमति बन्न नसकेपछि शैक्षिक हड्ताल गरेर महासङ्घ सडकमा आएको  हो। 

नयाँ शैक्षिक सत्र सुरु भएको समयमा विद्यालय नै बन्द गरेर आन्दोलनमा गर्दा शैक्षिक क्षेत्रमा असर पुगेको बताइएको छ। सबै शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा आएका कारण कक्षा १२ को परीक्षा १० दिन पर धकेलेर वैशाख २१ गतेलाई तोकिएको छ भने एसइईको उत्तरपुस्तिका जाँच नहुँदा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने निश्चित भएको छ।