राजनीति

महामन्त्री थापाको प्रस्तावः १३ लाख क्रियाशील सदस्यले पार्टी सभापति चुन्ने परिपाटी भए गुटबन्दी हट्छ, त्यसै गरौं

११ वैशाख, काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैधानिक प्रक्रिया मार्फत नेतृत्व परिवर्तन गर्नु कांग्रेसको मूल विशेषता भएको बताएका छन्।

नेता थापाले बिपी कोईरालाले पार्टी स्थापना गर्दा त्यो समय फरक भए पनि अहिलेको बेचैनी हटाउनु कांग्रेसको जिम्मेवारी भएको उल्लेख गरे। उनले कांग्रेसबाट निर्वाचित भएका पूर्वराष्ट्रपति रामबरण यादव अब पार्टीमा नफर्कने स्पष्ट गर्दै, एमाले र माओवादीबाट राष्ट्रपति तथा उपराष्ट्रपति बनेर फर्किएकाहरुका बारेमा कांग्रेसले धारणा राख्नुपर्ने बताए।

नेपालमा राजा स्वयं राजावादी नभएको उल्लेख गर्दै थापाले नेपालका राजा राजतन्त्रवादी भएकाले राजतन्त्र फर्किन नसक्ने बताए। उनले विगतमा थन्काईसकेको राजसंस्थाको कल्पना गर्नै नसकिने अवस्था आएको बताए।

थापाले नेविसंघको महामन्त्री पदबाट आफूलाई हटाउने विषयलाई स्मरण गर्दै, नेपालमा अब प्रजातन्त्र वा राजतन्त्रमध्ये एकको चयन गर्नु पर्ने बताए। उनले बिपी कोईरालाले अपनाएको मेलमिलापको नीति स्मरण गर्दै धर्म परिवर्तनमा बल प्रयोग गर्नु गलत भएको धारणा व्यक्त गरे।

महामन्त्री थापाले दलित, जनजाति, महिला लगायतका विषयमा कांग्रेस गम्भीर हुनुपर्ने बताए। साथै, चुनाव अघि र पछिका गठबन्धन सफल नहुँदा संविधानमा छलफल गरी आवश्यक परे संशोधन गर्नुपर्ने बताए।

थापाले सामाजिक सञ्जालमार्फत प्रजातन्त्रमा आइरहेको विश्वव्यापी चुनौती नेपालमा पनि देखिएको बताए। समस्याको समाधान कांग्रेसबाटै हुने उल्लेख गर्दै उनले ८ लाख क्रियाशील सदस्य १२ देखि १३ लाख पुर्‍याएर १५औं महाधिवेशन सम्पन्न गरिने जानकारी दिए।

साथै, सबै क्रियाशील सदस्यहरुले मतदान गर्ने व्यवस्था भए कांग्रेसमा गुटबन्दीको अन्त्य हुने दाबी गर्दै, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्ने बताए। उनले चुनाव जित्नु मात्र महत्त्वपूर्ण नभई, जनताको विश्वास कायम राख्नु अझ महत्वपूर्ण भएको बताए।