११ वैशाख, काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले आज लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।
काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताईन् । उनले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिईन् । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन् ।
डा आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएका बताए ।
उनले मुलुक एकतामा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशिताका क्षेत्रमा सकारात्मक अभ्यास हुने धारणा राखे । “फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भएका हामी नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको छ”, उनले भने, “एकता सधैँ कायम भएमा देश बन्नुका साथै अन्तरराष्ट्रिय जगतमा सकारात्मक सन्देश जान्छ । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्छ ।”
सोही कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति विष्णु पोखरेलले समावेशिता र समानताको प्रत्याभूति लोकतन्त्रमा मात्र सम्भव हुने बताए । उनले नेपाललाई मासु, तरकारी, फूललगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एकजुट भएर अघि बढ्नुपर्ने बताए । “विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्”, उनले भने, “युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ ।”