१२ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभाका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच भएको भन्ने काँग्रेस महामन्त्री गगन थापाको भनाइलाई धन्यवाद दिएका छन्।
आज बसेको संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट बोल्दै सांसद पुनले आफ्नो पार्टीले भन्दै आएको कुरा ढिलै भए पनि सत्तारूढ दलकै तर्फबाट बोलिदिएकोमा धन्यवाद दिएका हुन्।
आफुहरु सरकारबाट बाहिरिँदै गर्दा भनेको यही कुरालाई सरकार छोड्नु पर्दाको छटपटी भनेर आरोप लगाएको नेता पुनको भनाइ छ। उनले ‘अहिले सरकारमा सम्मिलित ठुलो दलको तर्फबाट सरकार सञ्चालनको लागी बनेको राजनीतिक संयन्त्रका सदस्यले ढिलै भए पनि सत्य बोलिदिनु भयो’ भन्दै धन्यवाद दिएका थिए।
सरकारको एकपछि अर्को व्यवहारले सरकार बिचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैआएको उपमहासचिव पुनको आरोप थियो।