समाचार

डङ्गोलको निधन प्रति काँग्रेसको श्रद्धाञ्जली, आजै टेकु दोभानमा अन्त्येष्टि 

१३ वैशाख, काठमाडौँ ।  नेपाली काँग्रेसले काठमाडौँ जिल्लाका पूर्व सभापति  तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन प्रति दुख व्यक्त गरेको छ।  आज पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा डङ्गोलको निधनले पार्टीलाई दुखी बनाएको बताएका छन्। 

त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाले पनि नेता डङ्गोलको निधनले आफूलाई दुखी बनाएको बताएका छन्। 

डङ्गोलको शुक्रवार राति ७७ वर्षको उमेरमा काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।  उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने र उनको आजै अपराह्न २ः०० बजे काठमाडौँको टेकु दोभानमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ।