आर्थिक

सुस्त मनस्थिति अभिभावक सङ्घलाई बजेट अभाव

१३ वैशाख, जनकपुरधाम । स्रोत, साधन तथा बजेट अभावमा यहाँस्थित बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने सुस्त मनस्थिति अभिभावक सङ्घ बन्द हुने अवस्थामा पुगेको छ ।

विगत ३४ वर्षदेखि सञ्चालनमा रहेको उक्त विद्यालयमा यतिबेला शिक्षक, प्रशिक्षक र स्वयमसेवकलाई तलबलगायतका सुविधाका लागि बजेट अभाव भएको जनाइएको छ । हाल उक्त केन्द्रमा विभिन्न उमेर समूहका ७२ जना बालबालिका अध्ययनरत छन् ।

संस्थामा अध्ययनरत बालबालिकालाई उनीहरुको आनीबानी, व्यवहार तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै सीपमूलक तालिम दिइँदै आइएको छ । बजेट अभावले अहिले बालबालिकालाई घरबाट ल्याउने र लैजान समेत समस्या भइरहेको सङ्घका अध्यक्ष कामेश्वर झाले बताए । संस्थासँग पहिले तीनवटा सिटी रिक्सा रहेकामा हाल एउटा मात्रै सिटी रिक्सा छ । पर्याप्त सवारी साधन नहुँदा बालबालिकालाई नियमित अध्ययनका लागि ल्याउन समस्या भएको उनले बताए ।

“बालबालिकालाई दैनिक अध्ययन तथा स्वास्थ्यको हेरचाहका साथै फिजियो र र स्पिच थेरापी गर्नुपर्ने हुन्छ, बजेट अभावले समस्या भएको छ”, अध्यक्ष झाले भने ।

जनकपुरधाम उपमहानगरपालिकाले संस्थालाई वार्षिक छ लाख दिने गरेको भए पनि त्यहाँबाट शिक्षकसहित कर्मचारीलाई तलब र भत्ता दिन अपुग भएको उनको भनाइ छ । हाल संस्थामा प्रशिक्षक, कर्मचारी र स्वयमसेवक गरी पाँचजना नियमित कार्यरत छन् ।

सुस्त मनस्थितिका बालबालिकाको अध्ययन, अध्यापन तथा सीपमूलक तालिम दिने उद्देश्यले विसं २०४७ मा संस्था स्थापना भएको थियो । संस्थाका लागि वार्षिक रु २५ लाख बजेट आवश्यक भएको अध्यक्ष झाले बताए ।