१३ वैशाख, नवलपरासी । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबिना देश समृद्ध हुन नसक्ने धारणा राखेका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको विनयी त्रिवेणीमा ‘वन जैविक वस्तु व्यवस्थापन तथा कृषिको दिगोपन’सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशले अब समृद्धि मागेको बताउँदै त्यसको आधार प्राकृतिक स्रोतसाधनको प्रयोग भएको उल्लेख गरे ।
सभामुख धितालले भने, “राजनीतिक रूपमा थुप्रै उपलब्धि हासिल भए पनि देशले समृद्धि मागेको छ, त्यसका थुप्रै आधारमध्ये प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हो । यसलाई प्रयोग नगरी देश समृद्ध हुनसक्दैन ।” देशलाई समृद्धिको बाटोमा लैजाने प्रमुख आधार वन क्षेत्र पनि भएको उनले बताए ।
रासायनिक मलको प्रयोगले माटोमा भएका जैविक तत्वको विनाश भएको भन्दै सभामुख धितालले यसलाई जोगाउन सबै कृषक, सरोकार भएका निकायले पहल गर्नु जरुरी रहेको बताए । वनमा रहेका अनावश्यक झारपातबाट विनयी त्रिवेणीमा जैविक मल उत्पादन सुरु भएकामा धन्यवाद दिँदै यसलाई विस्तार गर्दै देशैभरि नयाँ सन्देश दिनुपर्नेमा उनले जोड दिए ।
सभामुख धितालले खेतबालीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै गइरहेकाले यसलाई प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । भोलिका दिनमा स्वास्थ्यमा आउनसक्ने गम्भीर समस्या रोक्न, माटोको गुणस्तर सुधारका लागि जैविक मल प्रयोगमा सबैले जोड दिनुपर्ने उनको भनाइ छ ।
“वन डढेलोबाट आउने धुँवाले जति असर गरेको छ, प्लास्टिक जलाउँदा थप विषालु धुँवा उत्पन्न हुने र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसतर्फ सबै सचेत हुनु जरुरी छ”, सभामुख धितालले भने ।
प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले देशमा प्रशस्त प्राकृतिक स्रोतसाधन भए पनि त्यसलाई उपभोग गर्न नसकिएको बताए । विश्वका धनी राष्ट्र नेपालको प्राकृतिक स्रोतसाधनको प्रयोगबाट धनी भएका उल्लेख गर्दै उनले वनमा रहेका जैविक वस्तुको प्रयोग गरी मल उत्पादनतर्फ लाग्दा दिगो रूपमा उत्पादन र उत्पदकत्वका साथै मानव स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने धारणा राखे ।
“वनभित्र यतिकै रहेका झाडी डरलाग्दो इन्धनका रूपमा छन्, आगो लाग्ने वित्तिकै ठूलो मात्रामा डढेलो लाग्ने र यसले वनमा क्षति पु¥याउने, मानवीय क्षति पु¥याउने अवस्था रहेकाले यसको उचित व्यवस्थापन आवश्यक छ”, मन्त्री पौडेलले भने, “यसको विकल्पमा जैविक मल उत्पादन गर्न सकिने देखिएकाले यसलाई विस्तार गर्दै लैजानुपर्छ ।” वन डढेलो नियन्त्रणसँगै माटोको अवस्था सुधार गर्न समेत जैविक मल उत्पादन कार्य उपयुक्त भएको मन्त्री पौडेलले बताए ।
विनयी त्रिवेणी गाउँपालिका र डिभिजन वन कार्यालयको समन्वयमा विनयी सामुदायिक वन उपभोक्ता समूह तथा नेपाल बायो विज्ञान अनुसन्धान ल्याबको आयोजनामा ‘वन जैविक वस्तु व्यवस्थापन तथा कृषिको दिगोपन’सम्बन्धी राष्ट्रिय सम्मेलन दुम्किबासमा सुरु भएको हो । वनभित्रको झाडीको व्यवस्थापन गरी जैविक मल उत्पादन तथा बिक्री गरेकाले यसैलाई केन्द्रित गरी सम्मेलन सुरु भएको विनयी सामुदायिक वनले जनाएको छ ।
वनमा काम नलाग्ने अवस्थामा रहेका झाडीको व्यवस्थापन गरी जैविक मल बनाउने र त्यसलाई कृषिसँग जोडेर उत्पादन वृद्धि गराउने लक्ष्यसहित दुम्किबासको विनयी सामुदायिक वनमा सफलतापूर्वक मल उत्पादन गरिएकाले यसलाई देशव्यापी बनाउने र सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।
दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन वन डढेलोका कारण हुने क्षति न्यूनीकरण, वायु प्रदूषण न्यूनीकरण, वनमा आधारित उद्यम विकास, वनमा काम नलाग्ने झाडीबाट जैविक मल उत्पादनलाई थप व्यवस्थापन र विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहने यहाँले जानकारी दिए । सम्मेलनमा वन विज्ञ, कृषि विज्ञ र यसमा सरोकार राख्ने व्यक्तिको सहभागिता छ ।