समाचार

दिवङ्गत नेता डङ्गोलको अन्त्येष्टि सम्पन्न

१३ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसका दिवङ्गत नेता तीर्थराम डङ्गोलको पार्थिव शरीर आज अन्त्येष्टि गरिएको छ । गए राति ७७ वर्षको उमेरमा सनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । उनको पार्थिव शरीर विधिपूर्वक टेकुमा अन्तेष्टि गरिएको हो ।

उनलाई श्रद्धाञ्जली दिन आफन्त, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता थियो । सिनामङ्गलस्थित केएमसी अस्पतालबाट उनको शव आजै कुलेश्वरस्थित निवासमा ल्याएर विधि विधानका साथ अन्तेष्टि गरिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

विसं २०४३ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन काठमाडौँ नगर पञ्चायतको उपप्रधानपञ्च जितेका डङ्गोलले सो व्यवस्थाको विरोध गरेकाले निलम्बनमा परको थिए ।

निष्ठावान र आदर्श नेताको छवि बनाएका उनी कांग्रेस काठमाडौँको जिल्ला सभापति तथा विसं २०५६ को आमचुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विजयी हुनुका साथै स्वास्थ्य राज्यमन्त्रीसमेत बनेका थिए।