समाचार

मौसमका कारण बाहेक देशभर कुनै लोडसेडिङ छैन: प्राधिकरण

१४ वैशाख, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालको मौसमका कारण आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुगेर विद्युत् आपूर्तिमा हुने समस्या बाहेक लोडसेडिङ नहुने स्पष्ट पारेको छ।  आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएका हल्लाको पछि नलाग्ने आग्रह गरेको हो।  

 मर्मत सम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण कतै कतै विद्युत् बन्द हुने अवस्था आउन सक्ने पनि जनाएको छ। त्यो बाहेक देशभर विद्युत् आपूर्तिमा कुनै लोडसेडिङ नरहेको बताएको हो। सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरेको छ। 

 हाल कतै पनि लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने प्राधिकरणले बताएको छ।