१४ वैशाख, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा ध्यानाकर्षण भएको बताएको छ। आन्दोलनरत शिक्षक र प्रहरीबिचको झडपको समाचार सङ्कलनको दौरान प्रहरीले हानेको पानीको फोहोराले आँखामा लागेर कार्की घाइते भएकी थिइन्।
महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासङ्घको ठहर छ ।’
अहिले तिलगंगा आँखा अस्पतालमा उपचार गराइरहेकी कार्कीको महासङ्घले स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।
