१४ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिक्षकमाथि सरकारले दमन गरेर कुशासनको अर्को उदाहरण देखाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले शिक्षकहरूलाई धम्क्याउने र दमन गर्ने कार्य सरकारको कुशासन भएको बताएका हुन्।
उनले शिक्षकहरूको माग सम्बोधनको लागि सरकार गम्भीर नबनेकोमा चिन्ता व्यक्त गरेका हुन् । कोइरालाले शिक्षकका माग अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै शिक्षकका माग एक दुई दिनमै सम्बोधन गरेर पठन-पाठन सुचारु गर्न सरकारसँग माग गरेका छन्।
“शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो ।
पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो । अब धेरै ढिला भयो । एक दुई दिन मै समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”
