१५ वैशाख, काठमाडौँ । शिक्षक महासङ्घको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय भोली देखि सञ्चालन गर्न ललितपुर महानगरपालिकाले पत्राचार गरेको छ। आज सोमबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका सबै विद्यालयमा पठनपाठनको व्यवस्था गर्न आग्रह गरेको हो।
शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको सम्झाउँदै महानगरले उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसकेकोमा चिन्ता व्यक्त गरेको छ।
विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम सञ्चालन गर्नु गराउनु हुन पत्रमार्फत अनुरोध गरेको हो।
