१५ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन मंसिरमा हुनुपर्ने संवैधानिक बाध्यता हुँदाहुँदै पनि नेतृत्व मौन रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा आयोजित ‘बीपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा विचार गोष्ठीमा कोइरालाले भने, “भ्रातृ संस्थाहरू लथालिङ्ग छन्, महाधिवेशन हुन्छ कि हुँदैन भनेर कोही बोल्दैनन्। यसरी त पार्टी पनि चल्दैन, देश पनि चल्दैन।”
उनका अनुसार, महाधिवेशन २०८२ मंसिरमा सम्पन्न हुनुपर्ने हो, तर पार्टी नेतृत्व र पदाधिकारीहरू जिम्मेवारीप्रति बेखबर देखिएका छन्। पार्टीभित्रको व्यवस्थापनहीनता र भ्रातृ संस्थाहरूको अस्तव्यस्तताले संगठनमा गम्भीर प्रश्न उठाएको नेता डा. कोइरालाको तर्क छ।

साथै उनले बिपीले परिकल्पना गरेको समाजवादको अवधारणाअनुसार केही पालिकाहरूलाई नमूना पालिकाका रूपमा अघि बढाउन सकिने योजना सुनाए । “बिपीको कल्पनालाई लागू गर्नेतर्फ जान सक्यो भने मात्र उहाँको दूरदृष्टि सफल हुनेछ । सुरुआतमा कुनै एउटा–दुईटा पालिका वा गाउँमात्रै बिपीले कल्पना गरेअनुसार बनाउन सकिन्छ । यसमा लागौँ”, उनले भने ।
हाल सरकारमा रहेका व्यक्तिहरूले आफ्ना कमजोरी लुकाउनका लागि मात्रै यो व्यवस्था जान्छ कि भन्नेबारे देखावटी चिन्ता व्यक्त गरिरहेको डा कोइरालाको जिकिर छ । “हामीले ल्याएको लोकतन्त्र जान्छ कि भनेर नेतृत्वले चिन्ता गर्दै छलफल गरेको देखियो तर त्यो आफ्नो कमीकमजोरीलाई लुकाउन मात्र छलफल गरेको हो”, उनले भने, “गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन । आफ्ना कमजोरी लुकाउन सबै कुरा भइरहेका छन् । गणतन्त्र जाँदैन ढुक्क हुन्नुस् ।” नेता डा कोइरालाले विद्यमान संविधानमा केही कमजोरी छन् भनेर सबैले स्वीकारी सकेकाले यसलाई सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले हाल देखिएका समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । “शिक्षक, चिकित्सक, कर्मचारी, लघुवित्तपीडित तथा सहकारी पीडितहरू सडकमा आन्दोलनरत छन् । यी आवाजलाई सरकारले बेवास्ता गर्नुहुँदैन”, डा कोइरालाले भने, “यसबाहेक नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुनु भनेको सरकारबाटै कानुनको उल्लङ्घन गर्नु हो । सो पद रिक्त हुनु एक महिना अगावै अर्को नियुक्ति प्रक्रिया थाल्ने विद्यमान कानुनी व्यवस्थालाई सरकारले लत्याएको छ । यो राम्रो होइन ।” सार्वजनिक संस्थाहरूमा राजनीतिक नियुक्त र नेता नजिकका व्यक्ति छान्ने प्रवृत्ति रोकिनुपर्ने उनको भनाइ थियो ।
वी. पी. कोइराला सोसलिस्ट ईन्टरनेशनल नेपालले काठमाडौमा आयोजना गरेको वी. पी.को समाजवाद र स्थानीय सरकार नामक पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा रामवरण यादव, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, साथमा केन्द्रीय सदस्यहरु- सुजाता कोइराला र एनपी साउद, पुर्व मुख्य सचिव डा बिमल कोइराला, बिश्लेषक एवं लेखकहरु( डा सुन्दरमणी दिक्षित, लोकराज बराल, जयराज आचार्य, सिके लाल, मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल राय, संस्थाकी अध्यक्ष माननिय ईन्दिरा थापा लगायतको उपस्थिति थियो ।