पर्यटन/संस्कृति

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

१६ वैशाख, काठमाडौँ । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको छ ।

पर्यटकीयउपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गर्न र मुलुकको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने काम भइरहेको बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धन र प्रचारका लागि नयाँ पुस्तालाई जोडेर प्रविधिको उपयोग गर्नुपर्ने बताएका छन् । उनले भने, “लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।”

हाल देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सिइओ जोशीले त्यसको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “देशभरका सातै प्रदेशमा ‘कन्टेन्ट क्रियटर’का रूपमा लागिरहेका युवा पुस्ताले खोजीका साथै दूरदराजका वैभव र विशेषतालाई प्रचार एवं प्रवर्द्धन गरिरहनुभएको छ । उहाँहरूलाई पर्यटकीयउपज उत्पादकसँग जोड्नका लागि पनि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्व्यहरूको भिडियो सामग्रीसमेत समावेश गरिएका थिए । सिइयो जोशीले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेका युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकासमेत बताए ।

लेखक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटनउपज उत्पादक र कन्टेन्ट क्रियटरलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न आग्रह गरे । “पर्यटन प्रवर्द्धनका लागि हाम्रो परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने थियो । बोर्डले यो जमर्को गरेको सकारात्मक सङ्केत हो । अब हामीसँग हिमाल र सगरमाथा छ भनेर मात्र नपुग्ने भएकाले सांस्कृतिक र अन्य प्राकृतिक वैभवताबारे पनि प्रचार गर्न आवश्यक छ”, उनले भने “यसका लागि देशभरमा युवा पुस्ताले व्यक्तिगत रूपमा काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । सरोकार भएका निकाय मिलेर यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्छ ।”

कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहितको श्रव्यदृश्य सामग्री प्रस्तुत गरेका थिए । साथै ‘कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटर’बीच अन्तरक्रियासमेत गरिएको थियो ।