अन्तर्राष्ट्रिय

अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

१६ वैशाख, वासिङ्टन । कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो ।

“अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७.९ अङ्कले घटेर ८६.० मा झरेको छ,” कन्फरेन्स बोर्डले उपभोक्ता विश्वास सूचकाङ्कलाई उद्धृत गर्दै जानकारी गराएको छ । प्रतिक्रियाहरूमा उपभोक्ता विश्वास सूचकाङ्कमा आएको गिरावट ‘सर्वकालिक उच्च’ स्तरमा पुगेको छ ।

यो सन् २०२० को मे यताकै सबैभन्दा कम भएको एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेका छन् ।

कन्फरेन्स बोर्डका वरिष्ठ अर्थशास्त्री स्टेफनी गुइचार्डले भने, “अप्रिलसँगै लगातार पाँचौं महिना उपभोक्ताको विश्वास घटेको पाइएको छ ।”

“व्यापारको अवस्था, रोजगारीको सम्भावना र भविष्यको आयजस्ता तीन अपेक्षाका अवयवहरू तीव्र रूपमा बिग्रिएका छन्, जसले भविष्यको बारेमा व्यापक निराशावादलाई प्रतिबिम्बित गर्दछ,” उनले थपे ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कर योजनाले लगानीकर्ताहरूलाई निराश बनाएको छ, जसले बजारको अस्थिरतालाई बढावा दिएको छ र उपभोक्ताको विश्वासमा गिरावट आएको छ।

गुइचार्डका अनुसार ४८.५ प्रतिशत उपभोक्ताले आगामी १२ महिना शेयरको मूल्य घट्ने अपेक्षा गरेका छन्, जुन अक्टोबर २०११ पछिको सबैभन्दा उच्च हिस्सा हो ।

“औसत १२ महिनाको मुद्रास्फीतिको अपेक्षा यस महिनामा सात प्रतिशत पुगेको छ जुन नोभेम्बर २०२२ पछि उच्चतम हो र यो अर्को चिन्ताजनक सङ्केत हो,” गुइचार्डले भने।

मुद्रास्फीतिको सम्भावना कायम रहिरहेमा व्यवसायहरूले भविष्यमा उनीहरूको लागत अझ बढ्नेछ भन्ने प्रत्याशामा मूल्य हरू बढाउँदछन् र यसले मूल्य वृद्धिको दुष्चक्र निम्त्याउन सक्छ ।