१७ वैशाख, काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षकमाथि देखिएको बेवास्ता र अन्याय अन्त्य गर्न सरकारसमक्ष ९ बुँदे मागसहित मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिनुपर्ने प्रस्ताव अघि सारेको छ।
प्रस्तावमा सबै शिक्षक–कर्मचारीलाई सातै प्रदेशका अस्पताल र निजामती अस्पतालमार्फत सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने, अस्थायी शिक्षकहरूको बिदा सञ्चय गरी अवकाशमा एकमुष्ट भुक्तानी दिने, बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई खरिदार सरह दरबन्दी दिने, शिक्षकको तलब ग्रेड निजामती सरह निर्धारण गर्ने, दुर्गम भत्ताको समान पहुँच सुनिश्चित गर्ने लगायतका विषय समेटिएका छन्।
यी हुन् शिक्षक महासङ्घले अघि सारेका ९ बुँदे प्रस्ताव :
१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने ।
२) राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ती (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने ।
४) आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने ।
६) संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दी विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने ।
८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने ।
९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक/शिक्षक/कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने