१७ वैशाख, काठमाडौँ । आज भइरहेको सरकार र शिक्षकबिचको निर्णायक वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक सहभागी बनेका छन्। शिक्षाका महासङ्घले ऐन जारी हुने सुनिश्चितता खोजे पछि गृहमन्त्री लेखक,एमाले मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि वार्तामा सहभागी भएका हुन्।
महासङ्घले छलफलमा आफ्नोतर्फबाट नौ बुँदा पेस गरेको छ भने सोही बुँदामा आज निर्णयका वार्ता हुने बताइएको हो।
त्यस्तै शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छविलाल विश्वकर्मा पनि आजको वार्तामा सहभागी भएका छन्। महासङ्घको तर्फबाट भने यस अघिकै वार्ता टोली सहभागी बनेको छ।
चैत २० गतेबाट सुरु भएको शिक्षक आन्दोलन आज २९ औँ दिनमा पनि सडक प्रदर्शन रोकिएको छैन। विद्यालय कर्मचारी मैत्री शिक्षा ऐन जारी हुनुपर्ने अडान महासङ्घको रहेको छ।