१८ वैशाख, काठमाडौँ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो ।
मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो । पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ । यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।
उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन्। विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन्। नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताएका छन् । “मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ”, सन्देशमा उनले भनेका छन् । राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छन् । विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् । श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
ट्रेड युनियन अधिकारमा कांग्रेसको भूमिका महत्वपूर्ण छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले हाल पनि नेपालका श्रमजीवीले अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिएका छन् । “श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको सङ्घर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।
नेपालमा विसं १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भएपश्चात विसं २००३ मा कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार ग¥यो । त्यतिबेला जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अर्थात् विसं २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलनलाई मान्ने गरिएको छ । त्यसैले कांग्रेस र मजदुर सधैँ एक अर्कामा आबद्ध भएर एकअर्काका अनन्य सहयोगीका रूमा रहिआएको पनि सभापति देउवाले उल्लेख गरेका छन् ।
विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले नेपाली श्रमबजारको उन्नतिका लागि कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको बताए । सभपति देउवाले श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनले सबैमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिँदै उहाँहरूको सुख, शान्ति र समृद्धिका लागि पुनः शुभ–कामना व्यक्त गरेका छन् ।
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । विश्व श्रमिक दिवस (१ मे) का अवसरमा शुभकामना सन्देश दिँदै उनले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत व्यक्त गरेका छन् । उपराष्ट्रपति यादवले समाज र राष्ट्रको विकास निर्माण तथा उन्नयनमा श्रमजीवीहरूको श्रम, मेहनत, समर्पण र सङ्घर्ष अमूल्य रहेको बताए । उनले श्रमजीवीको अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ–आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी भएको उल्लेख गरे । “यो दिवस श्रमजीवीहरूका लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । उहाँहरूको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ”, शुभकामना सन्देशमा भनिएको छ । उपराष्ट्रपति यादवले श्रमजीवीहरूको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रूपमा समेत मनाइने मे दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।
मुलुकको विकास र समृद्धिमा श्रमिकहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले खासगरी कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तरराष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरूको भूमिका उल्लेखनीय योगदान रहेको उल्लेख गरे। “नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट ठूलो परिमाणमा विदेशी मुद्रा आपूर्ति हुनु सकारात्मक भए पनि श्रमजीवीहरूका लागि आफ्नै माटो–पानीमा रही श्रम र रोजगार गरी न्यायोचित अर्थोपार्जनको वातावरण मिलाउन जरुरी छ”, उपराष्ट्रपति यादवले भनेका छन् ,“नेपालको संविधानमै श्रमिक वर्गको अधिकार सुनिश्चित गरेको तथा सबै नागरिकलाई श्रम गर्ने अधिकार, न्यायोचित पारिश्रमिक, काम गर्ने सुरक्षित वातावरण र सम्मानजनक जीवनको प्रत्याभूति गरेको छ । संविधानले श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था, बालश्रम निषेध गर्दै बालबालिकाको अधिकारको सुनिश्चिततासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली श्रमिकहरुको हकहित संरक्षण र उनीहरूको क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारलाई उत्तरदायी बनाएको छ ।” उहाँले श्रमिकबारेको संवैधानिक व्यवस्थालाई सबैले अक्षरशः पालना गर्दै श्रकिमहरुको जीवनस्तर सुधार्न र अधिकार सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिए ।
उपराष्ट्रपति यादवले श्रमिकका लागि न्यूनतम ज्याला सुनिश्चित गर्ने, समयमै पारिश्रमिक उपलब्ध गराउने तथा पेन्सन, बिमा र अन्य सामाजिक सुरक्षाका लाभहरू व्यवस्थित गर्न जरुरी रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले श्रमिकमैत्री कानुनको कार्यान्वयन, सुरक्षित कार्यस्थलको प्रबन्ध, सीप विकास कार्यक्रमहरू सञ्चालन, सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापन, मुलुकमै पनि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रमहरू लागू गर्न सबैको ध्यानाकृष्ट हुन उत्तिकै आवश्यक रहेको औँल्याए ।
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख
सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
विश्व मजदुर दिवस (मे १) का अवसरमा शुभकामना सन्देश जारी गरी उनले नेपालका सम्पूर्ण श्रमिक वर्ग, श्रमिक अभियन्ता, ट्रेड युनियनलगायत सबैमा शुभकामना व्यक्त गर्दै बालश्रम, श्रमिक महिला–पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषणजस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको सङ्केत गरेको उल्लेख गरेका छन् । श्रमिक दिवस समावेशी, न्यायपूर्ण र श्रमको सम्मान हुने समाज निर्माणतर्फको हाम्रो साझा अभियानप्रतिको ऐक्यबद्धताको दिन भएको बताउँदै सभामुख घिमिरेले मजदुरको अधिकार सुनिश्चित गर्ने कानुन बने पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको छ ।
धारा ३४ मा ‘श्रमको अधिकार’ सुनिश्चित गरिएको छ, जसमा उचित पारिश्रमिक, सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षालगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी तोकिएको छ ।” आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको र कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायत क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउने सभामुख घिमिरेको भनाइ छ ।
उनले सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनबाट सुरु भएको मजदुर दिवसले आज पनि श्रमिक हक र सम्मानपूर्ण जीवनको मागलाई विश्वव्यापी रूपमा स्मरण गराउँदै आएको उल्लेख गरेका छन् । “सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मानजनक श्रम व्यवस्थाको कामनासहित विश्व मजदुर दिवस २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गरेको छन् ।
मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका हुने चर्चा गर्दै मन्त्री भण्डारीले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीति सुधारका काम प्रारम्भ भएका सन्देशमा उल्लेख गरेका छन् । सन्देशमा श्रममन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।