१९ वैशाख ,काठमाडौँ। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा निवेदन परेको छ। अध्यक्ष शेर्पाले आर्थिक प्रलोभनमा टिकट बाँडेको र स्ववियु निर्वाचनमा पैसाको चलखेल गरेर दाङको महेन्द्र बहुमुखी क्याम्पस र धादिङको आदर्श क्याम्पस गजुरीमा विभिन्न स्वार्थ समूहसँग मिलेर क्याम्पसको स्ववियु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीलाई बुझाएको गम्भीर आरोप लगाउँदै निवेदन परेको हो।
नेविसंघका केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाह साथै रत्न राज्यलक्ष्मी (आर आर) क्याम्पसका इकाई अध्यक्ष जितेन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेर अनुशासन समितिमा निवेदन हालेका हुन्। अध्यक्ष शेर्पाले आर्थिक प्रलोभनमा पारेर दुई-दुई वटा टिकट बाँडेर बागी उम्मेदवारलाई सहयोग गरेको, अनधिकृत रूपमा सङ्गठनको केन्द्रीय सदस्य बाँडेको जस्ता आरोप उनीहरूले लगाएका छन्।
अध्यक्ष शेर्पाले विभिन्न ठाउँमा आर्थिक चलखेल गर्दै नेविसंघलाइ बेचेको जस्ता गम्भीर आरोप निवेदनमा उल्लेख छन्।
आफ्नो स्वार्थ अनुकूल इकाई समिति वितरण गर्ने खारेज गर्ने गरेको, सङ्गठनमा दुख गरेका पुराना कार्यकर्तालाई डराएर धम्क्याएर सङ्गठन छोड्न बाध्य पारेको जस्ता अवाञ्छित गतिविधि गरेको भन्दै अध्यक्ष शेर्पा र अनुशासन समितिका संयोजक परोपकार अधिकारी माथि आवश्यक छानबिन गरी साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न उनीहरूले माग गरेका छन्।
अनुशासन समितिका संयोजक अधिकारीलाई उनीहरूले अवैधानिक संयोजक भनेका छन्। सहमतीमा स्ववियू निर्बाचन गरेपछि नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले बिभिन्न नेािसंघका नेताहरुलाई कारबाही गरेका थिए भने त्यसपछि ताला लगाउने र एकले अर्कोलाई कारबाही गर्ने क्रम बढिरहेको अवस्था रहेको छ, यसैविचमा नेविसंघका नेताहरुले अध्यक्ष शेर्पालाई नै कारबाहीको माग गर्दै निवेदन दिएका हुन् ।

अनेरास्ववियुको खड्काको नेतृत्वमा आरआरमा गठन भयो २१ सदस्यीय स्ववियु