अन्तर्राष्ट्रिय

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

१९ वैशाख, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक टेड्रोस अधोनम गेब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिस भोकमरीको सामना गरिरहेको बताएका छन् ।

शुक्रबार जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै गेब्रेयससले डब्लुएचओले अभूतपूर्व कोष चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे । उनका अनुसार दाता देशहरूले उनीहरूको योगदान घटाउँदै गर्दा डब्लुएचओको वित्तपोषणको इतिहासमा सबैभन्दा गम्भीर अवरोध भएको छ ।

यसैबीच डब्लुएचओको स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले गाजाका बालबालिकाहरूको दिमाग र शारीरिक अवस्था बिथोलिएको चेतावनी दिएका छन् ।

रायनका अनुसार गाजाका बालबालिकाहरूको शरीर र दिमाग बिथोलिएको छ, उनीहरू भोकै छन् ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न आग्रह गर्दै र यो अवस्था असहनीय रहेको जोड दिँदै अवस्था असहनीय रहेको बताए ।

कुपोषणको हालको स्तरले प्रतिरक्षा प्रणालीलाई बिगार्दै गएको उनको भनाइ थियो । उनले महिला र बालबालिकामा निमोनिया र मेनिन्जाइटिसका मामिलामा वृद्धि भएको पनि औँल्याए ।