विचार/ब्लग

विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकारिताको सामाजिक एजेण्डामा एआइ

धर्मेन्द्र झा । आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसै दिवसका सन्दर्भमा मे ३ को सेरोफेरोमा एक दुई दिनअघि पछि पनि विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ । नेपाल पनि अपवाद छैन । आजको दिन यहाँ पनि विविध कार्यक्रम गरी यो दिवसको आयोजना गरिँदैछ ।

नामिवियाको विण्डहक सहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।

नेपालमा सरकारीस्तरबाट नमनाइए पनि गैरसरकारीस्तरबाट भने यहाँ यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो । यसै दिवसको अवसर पारेर सञ्चार र पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् र यो क्रम यसपटक पनि जारी रहने निश्चित छ । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष विषय वा नारा ९थिम० तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक सङ्घ संस्थालाई पनि बहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्दछ ।

युनेस्कोले यस वर्ष अर्थात् २०२५ का लागि द इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन प्रेस फ्रिडम एण्ड द मिडिया भन्ने तय गरेको छ । नेपालीमा यसको अनौपचारिक अनुवाद प्रेस स्वतन्त्रता र मिडियामाथि कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स०को प्रभाव भनेर गर्न सकिन्छ । यस्तै अन्तरराष्ट्रिय पत्रकार महासङ्घ ९आइफजे ९ले टाइम टु पुट एआइ अन द सोसल एजेण्डा भन्ने विषय ९थिम० तय गरेको छ । नेपालीमा यसको अनौपचारिक अनुवाद एआइ ९कृत्रिम बौद्धिकता०लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय आएको छ भनेर गर्न सकिन्छ । यी विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैनन् विगतको तुलनामा अर्थपूर्ण पनि छन । निश्चिय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित छ भन्दा अनुचित हुँदैन । विशेष गरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन । त्यसो त आजको विश्वमा एआइले प्रभावित नगरेको वा गर्न नसक्ने सम्भवतः कुनै पनि क्षेत्र छैन । तर सञ्चार र पत्रकारिता क्षेत्र एआइबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो भन्दा गलत नठहर्ला । पत्रकारितामार्फत सार्वजनिक गर्न निर्माण गरिने विषयवस्तु र त्यसको प्रसारण वा प्रकाशनका धेरै कार्यमा एआइ हस्तक्षेपकारी भूमिकामा प्रस्तुत हुनसक्ने अवस्थाको विकास भएको छ । यसमा विमति हुन सक्दैन । पत्रकारितामा तथ्यको खोजी र सम्प्रेषणको ठूलो महत्व हुन्छ । एक किसिमले भन्ने हो भने तथ्यको प्रस्तुति नै मूल पत्रकारिता हो पनि भन्ने गरिन्छ । अब यही तथ्यको खोजी र परीक्षणमा एआइ निर्णायक भूमिकामा उपस्थित हुने अवस्थाको सिर्जना भएको छ । आजको विश्वमा पत्रकारिताले आफ्नो स्वरुप र शैलीमा द्रुत गतिमा निरन्तर परिवर्तन गरिरहेको छ । आजको पत्रकारिता ‘कम्प्युटर एसिस्टेड रिपोर्टिङ–कार’ ९कम्प्युटरको सहयोगमा आधारित रिपोर्टिङ० मा धेरैजसो निर्भर रहन थालेको छ । यो यथार्थलाई स्वीकार गर्ने हो भने एआइको हस्तक्षेप स्वीकार गर्नैपर्ने हुन्छ । एआइले तथ्यको खोजी र परीक्षणका सन्दर्भमा कम्प्युटरमा रहेका सबै जानकारीमाथि पहुँच स्थापित हुने क्षमता राख्दछ जो मानिसका लागि असम्भवप्रायः छ । यस्तोमा मानिसको नियन्त्रणमा फिल्ड ९सम्बद्ध स्थान० र फिलिङ ९भावना०मात्र बाँकी रहन जान्छ र यही नै उसको पत्रकारिताको मूल आधार बन्ने निश्चित छ । सारमा हेर्ने हो भने प्रविधि र खास गरी एआइको प्रभाव समग्र मिडिया र स्वतन्त्र प्रेस कमैमा पर्ने निश्चित छ ।

आएएफजेले यसपटकको नारामा एआइका सन्दर्भमा सोसल एजेण्डा शब्दावली प्रयोग गरेको छ र यसको सोझो रुपमा नेपाली अनुवाद हुन्छ, सामाजिक मुद्दा । यो नाराका आधारमा भन्ने हो भने पत्रकारितामा एआइको विधिवत् प्रयोगलाई स्वीकारमात्र गरेको छैन बरु यसलाई पत्रकारिता गर्ने सन्दर्भमा सामाजिक मुद्दा मान्न पनि आह्वान पनि गरिएको छ । युनेस्कोको नामराको विश्लेषण गर्ने हो भने भन सकिन्छ, हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमहरुलाई तीव्र बनाएको छ । प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ र यसै सेरोफेरोमा प्रेस स्वतन्त्रताप्रति सचेत हुन पनि अवस्था पनि सिर्जना भएको छ । पत्रकारितालाई व्यावसायिक पत्रकारहरुको कित्ताबाट नागरिक पत्रकारिताको कित्तामा पुर्‍याउने काम गरेको डिजिटल प्लेटफर्म र एआइलाई पछिल्लो समयमा सशक्त माध्यमका रुपमा स्वीकार गरिएको छ । आज यस्तो अवस्था आइसकेको छ, जहाँ एआइबिनाको पत्रकारिताको कल्पना गर्न नसकिने अवस्था उत्पन्न भएको छ । माथि उल्लेख गरिएका सन्दर्भमध्ये कति विषय उचित र कति अनुचित हुन् त्यसका बारेमा बहस चल्दै गर्ला । तर वर्तमान अवस्थाले दुईवटा कुरा बडो गम्भीर ढङ्गले सोच्न उत्प्रेरित गरेको छ, त्यो हो पहिलो, पत्रकारिताको रचनात्मक (क्रिएटिभ) र विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु र दोस्रो हो, प्रेसमाथि डिजिटल प्रविधिको बढ्दो हस्तक्षेप ।

प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको छ कि आजको समयमा पत्रकारले कुनै पनि घटना र स्कूपलाई एकछिन पनि ‘होल्ड’ गर्न सक्दैन । एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्ता सूचना तत्काल सम्प्रेषण गर्छ । यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया ९एडिटोरियल प्रोसेस० र ‘गेट किपिग’ को अवधारणालाई अनुशरण गर्न सकेको हुँदैन । तर एआइ ‘प्रयोग’ भएको हुनसक्छ । यसले निश्चय पनि समाचारमा विश्वसनीयताको सङ्कट निम्त्याउँछ । जान्नेहरुले एआइलाई आफूअनुकूल ‘प्रयोग’ गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । ‘डाटा मेनिपुलेशन’को सम्भावनाले एकातिर विश्वसनीयताको सङ्कट निम्त्याउन सक्छ भने अर्कोतिर प्रविधिको अत्यधिक प्रयोग गर्न सक्नेको पहुँचमा पत्रकारिता जान सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

एआइको प्रयोग हार्ड न्यूज (घटनाप्रधान समाचार)का सन्दर्भमा त पूरै लागू हुन सक्छ तर पत्रकार सचेत र जिम्मेवार भयो भने सफ्ट न्यूज ९विषय वा प्रक्रिया प्रधान समाचार०का सन्दर्भमा पत्रकारिताको मौलिकता जोगिन सक्छ । पछिल्लो प्रकारको समाचारको आधार खोजी पत्रकारिता हो । यसमा ‘कारण’ र ‘परिणाम’को खोजी गर्नु आवश्यक हुन्छ भन्ने बुझाइका आधारमा पत्रकारको सक्रियता बढ्न सक्ने अपेक्षा गरिनु अनुचित हुँदैन । यसो भयो भने एआइ र डिजिटल प्रविधि पत्रकारका लागि सहयोगी हुन सक्छ र पत्रकारको सक्रियताले पत्रकारिताको रचनात्मकता जोगिन सक्छ ।

आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्नसक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदैछन् । माथि पनि चर्चा गरियो आज पत्रकारितामा एआइ र रोबोटको प्रयोग भइरहेको अवस्था छ । प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भरतातर्फ धकेलिरहेको छ भन्दा अस्वाभाविक हुँदेन । यस्तोमा पत्रकारिताको मौलिकतामाथि सङ्कट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यसको एकमात्र उपाय छ, त्यो हो पत्रकारको स्वसक्रियता । पत्रकारले प्रविधि निर्देशित कन्टेन्ट ९विषय० मा भर पर्नुको साटो आफूले कारण र परिणामको औजार प्रयोग गरेर खोजेको विषयलाई प्रविधिको सहयोगले थप सशक्त बनाउनु आवश्यक छ ।

माथिको पृष्ठभूमिका आधारमा युनेस्को र आइएफजेको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक त छँदैछ अझै यसलाई सामाजिक एजेण्डाकै रुपमा स्वीकार गरेर पत्रकारितालाई दिशानिर्देश गर्न गरिएको आह्वान निकै महत्वपूर्ण छ । हो, आजको समयमा एआइको अस्तित्वलाई अस्वीकार गर्न सकिने अवस्था छैन । माथि चर्चा गरेजस्तै प्रत्येक क्षेत्रमा एआइको बढदो प्रयोगले सामाजिक मूल्य मान्यता नै प्रभावित हुन सक्ने अवस्था रहेको वर्तमान समयमा एआइ र यसले सिर्जित गरेको प्रभावको मूल्याङ्कन निश्चय पनि पत्रकारिताको महत्वपूर्ण विषयवस्तु हुने कुरामा दुई मत हुन सक्दैन । यो अवस्था भनेको पत्रकारिताका लागि एआइ साध्य र साधन दुवै बन्न सक्ने सम्भावना हो । यो यथार्थलाई पत्रकार र पत्रकारिताले जतिसक्दो छिटो स्वीकार गरेर आवश्यक रणनीति तय गर्नु अपरिहार्य छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को पूर्व सन्ध्या (मे २)मा नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे)को आयेजना गर्यो । संयोग नै मान्नुपर्छ, विश्व प्रेस सवतन्त्रता दिवसभन्दा एकदिन पहिले यस कार्यक्रममा प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैजनाबाट डिजिटल नेपाल र एआइको प्रयोगबारे विस्तृतमा चर्चा भएको थियो । निश्चय पनि उक्त अभिव्यक्तिहरुका आधारमा भन्न सकिन्छ सरकारले एआइका बारेमा आफ्नो धारणा स्पष्ट ढङ्गले देशवासीका सामु राखेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा युनेस्कोको यस वर्षको विषय र नेपाल सरकारद्वारा आइसिटी डेका दिन सार्वजनिक गरिएको धारणाको एकअर्कासँग तादात्मय छ । आशा छ, सरकारले भावी दिनमा यससम्बन्धी आवश्यक नीति तय गर्नेछ र एआइको सुरक्षित र प्रभावकारी प्रयोगका सन्दर्भमा उचित वातावरण निर्माण गर्नेछ ।

(राससका कार्यकारी अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।)